नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकार परिवर्तन गर्ने हल्ला पछिल्लो समयमा निकै उठि रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा गएर सहमतिको सरकार गठन प्रक्रियाबारे बोल्दै गर्दा नेपाली जनताहरु भ्रममा परेका छन् ।
नेपाली जनताले कयौ वलिदानी दिएर नयाँ संविधान पाएको भएपनि संविधान कार्यान्वयनको दिशामा नेपालका राजनितीक दलहरु नलाग्दा नयाँ संविधान कार्यान्वयन हुदैन कि भन्ने विश्लेषण गरिरहेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएपछि पुनः सत्ता फेरबदलको चर्चा राजनीतिक वृत्तमा छाएको छ ।
गोप्य रूपमा भएपनि भित्र भित्र दलीय छलफल पनि बाक्लिएको छ । तर, कुनै पनि दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले बहुमत नटुट्दा औपचारिक रूपमा सरकार फेरबदलको राजनीति सुरु भएको छैन । गठबन्धन दलबीचको अन्तर्विरोधका कारण सरकार ढल्ने पक्कापक्की छ । अहिलेको प्रमुख आवश्यकता नयाँ संविधान कार्यान्वयनका लागि सहमतिको सरकार रहे पनि नयाँ बन्ने सरकार सहमतीय या बहुमतीय हुने यकिन भइसकेको छैन । तैपनि राजनीतिक घटनाक्रम हेर्दा सहमतीय होइन, बहुमतीय प्रक्रियाबाट सरकार निर्माण हुने सम्भावना प्रबल देखिएको छ । नेपालका राजनितीक दलहरु अहिले नयाँ संविधान जारी भई कार्यान्वयनको दिशामा अगाडी बढिरहेको अबस्थामा फेरी पनि सरकार ढाल्ने खेल भन्दा नयाँ संविधान कार्यान्वयन तर्फ जुट्नु पर्ने देखिन्छ ।








